पौष ९ काठमाडौं ह्याचरी उद्योगीले गरेको आन्दोलनलगत्तै बजारमा मासुको मूल्य अकासिएको छ । मागअनुसार आपूर्ति कम भएको भन्दै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्यवृद्धि गरेका छन् ।
ब्रोइलर कुखुरा बजारमा पर्याप्त नरहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको भनाइ छ । माग पनि बढेपछि मूल्य वृद्धि हुनु स्वाभाविक रहेको संघले जनाएको छ । ह्याचरी उद्यमीको राष्ट्रिय भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा मंसिर २९ देखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरेको थियो । मंसिर २९ देखि पुस ८ सम्म कुनै पनि ह्याचरीबाट उत्पादित ब्रोइलर चल्ला, कलर ब्रोइलर चल्ला र क्रोइलर चल्ला बिक्रीवितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए । उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत भए पनि सरकारलाई चुनौती दिँदै उनीहरूले उत्पादन बन्द गरेका थिए ।
यस्तै नेपाल अण्डा उत्पादक संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ ।