logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • शीर्ष नेताको छलफललाई आशङ्का गरिरहनु पर्दैन: प्रधानमन्त्री दाहाल

    शीर्ष नेताको छलफललाई आशङ्का गरिरहनु पर्दैन: प्रधानमन्त्री दाहाल

    791
    Shares
    शीर्ष नेताको छलफललाई आशङ्का गरिरहनु पर्दैन: प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् ।

    सिंहदरबारमा आज शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशङ्का गरिरहनु आवश्यक नभएको बताए ।

    ‘मिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट बढी सदनलाई कसरी सञ्चालन गर्ने, समिति बनाउने विषयमा छलफल भएको हो’, उनले भने ।

    नक्कली भुटानी शरणार्थी ठगीका विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, त्यसलाई कुनै अवरोध गर्न हुँदैन भन्नेमा शीर्ष नेताको सहमति रहेको उनले जानकारी दिए ।

    ‘आशङ्का गरिरहनु जरुरी छैन, हामीले प्रष्ट भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर हामीले आदेश दिएका छौँ । प्रहरीले आफ्नो काम गरेको छ । यसकारण यो विषयमा द्विविधा हुनुपर्ने, आशङ्का गर्नुपर्ने कारण छैन’, प्रधानमन्त्री दाहालले भने ।

    सोसम्बन्धमा विधि विधान, नियम र पद्धतिअनुसार अनुसन्धान भएको जनाउँदै उनले प्रहरीले आफ्नो काम गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend