खोटाङ । प्रहरीले बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुभद्रा मदन फाउन्डेसनका सञ्चालक समेत रहेका कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ गरेको छ ।
राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले आरोपित राईलाई दिउँसो करिब १२ बजेतिर पक्राउ गरिएको बताए । ‘राईलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएका छौं,’ मुकारुङले भने, ‘विस्तृत कुरा अनुसन्धानपछि थाहा हुन्छ ।’
उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउनेलगायत दूराचार गरेको बिहीबार सेतोपाटीमा समाचार प्रकाशित भएको थियो ।