logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • हाम्रा मित्रराष्ट्रहरुले नेपालकाे संवेदनशीलतालाई बुझिदिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    हाम्रा मित्रराष्ट्रहरुले नेपालकाे संवेदनशीलतालाई बुझिदिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    1.4K
    Shares
    हाम्रा मित्रराष्ट्रहरुले नेपालकाे संवेदनशीलतालाई बुझिदिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन् ।

    पूर्वराष्ट्रपति भण्डारीले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नुपर्ने औंल्याएकी हुन् ।

    शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक ‘नेपाल इन्डिया फ्रोन्लीइर डिप्लोमेसी इन् रिफ्रेन्स टु काली रिभरः प्रोस्पेक्टीभ्स अफ इन्टरनेशनल ल’ को बिमोचन कार्यक्रममा बोल्दै उनले दुई देशबीचको सदिआंैदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन पनि भौगोलिक सीमासम्बन्धि सबै समस्याहरु हल गरेर अघि बढ्नैपर्ने तर्क गरिन् ।

    कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्शामा समाविष्ट गरेर संविधानको अंग बनाएसँगै मलुुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताप्रति ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले त्यसलाई कार्यान्वयनमा लैजान दुई मुलुकका राजनीतिक तथा कूटनीतिक नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘दुई देशबीचको सिमाको सबैले सम्मान गर्नु पर्दछ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन । हाम्रो देशको नक्शामा संसदले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समाविष्ट गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको छ । भौगोलिक अखण्डता र देश प्रेमप्रतिको अटल विश्वास प्रदर्शित भईरहेको छ । नेपाली भूभागको यस विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा इतिहासका प्रसंगलाई हामीले फेरी एक पटक महत्वका साथ स्मरण गर्नु पर्दछ । हामीलाई थाहा छ–मुलुकहरु बीचको भौगोलिक सिमाना कतिपय अवस्थामा दुई पक्षीय कूटनीतिको विषय बन्ने गर्दछ । हामीले आज चर्चा गरिरहेको नेपाली भूगोल हामीसँगै सभ्यताले जोडिएको मित्र राष्ट्र भारतसँग समेत विभिन्न कारणले सम्बन्धित हुन पुग्यो । त्यसकारण दुई देशबीचको भौगोलिक सिमानालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नु पर्दछ । यस्तो कार्यका हाम्रा दुईदेशबीच सदिऔंदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन महत्वपूर्ण योगदान पुर्‍याउने मैले विश्वास लिएको छु । पानी जीवनको अस्तित्वको आधार हो ।’

    पूर्वराष्ट्रपति भण्डारीले एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई ख्याल गरेर अघि बढदामात्रै आपसी सम्बन्धलाई अझ सदृढ र विश्वाशिलो बनाउँदै लैजान सकिने पनि स्मरण गराइन् ।

    उनले नदी प्रणालीको संरक्षण र सम्वद्र्धन गरी अघि बढन सके नेपालले आर्थिक रुपमा ठूलो प्रगति गर्ने समेत बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend