पौष १७ काठमाडौं – सरकारले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको छ । बिहिबार गृहमन्त्री रामबहादुर थापा बादलले खनाललाई १० हजार नगद र सम्मानपत्र सहित पुरस्कृत गर्नुभएको हो ।
नेपाल प्रहरीले आर्थिक वर्ष २०७४/७५ सम्मको कुल बेरुजु रकममध्ये ८८.५० प्रतिशत बेरुजु फछ्र्योट गरिसकेको छ । आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण भएको अंकमा १.८० प्रतिशत मात्र बेरुजु कायम गर्न सफल भई बेरुजु फछ्र्योटको प्रगतिमा सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको छ ।
नेपाल प्रहरीमा आर्थिक प्रशासन प्रमुखको जिम्मेवारी भने एसएसपी दिपक थापाले हेर्दै आउनु भएको छ । महानिरीक्षक खनालले पाएकै पुरस्कार बेरुजु फछ्र्यौटको कार्यमा संलग्न बढिमा ५ जनालाई नगद आठ हजार सहित पुरस्कार प्रदान गरीने छ । त्यसको छनोट भने प्रहरी भित्र महानिरीक्षक खनालले आफै गर्नुहुनेछ ।