काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या सिर्जना भएको बताएका छन् ।
सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका हुन्। जसमा उनले साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए ।
संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले रूस–युक्रेन युद्धले आपूर्तिमा असर गरेको बताए ।
उनले उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको बताए ।
मुद्रा स्फीति नियन्त्रण र विनिमय सञ्चिति कायम गर्न लिएका नीतिले पनि समस्या बढाएको अर्थमन्त्री महतको भनाई छ ।