पौष २१ काठमाडौं नेपाली कांग्रेसको पार्टी कार्यलय सानेपमा असन्तुष्ट पक्षका जिल्ला सभापतिको भेला सुरु भएको छ। भेलामा चालिसभन्दा बढी जिल्ला सभापति सहभागी छन्। भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, प्रकाशमानसिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, बलबहादुर केसीलगायतका नेताहरु सहभागी छन्।
गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डेलगायतका युवा नेताहरु पनि भेलामा भाग लिएका छन्। पार्टी कार्यलय सानेपमा सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका कोही पनि नेताहरु सहभागी भएका छैनन्। देउवा आफ्नो निवास बुढानिलकण्ठमै निकट सहकर्मीसँग परामर्श गरिरहेका छन्।
२६ मंसिरमा संस्थापनले एकपक्षीय रुपमा केन्द्रीय समिति बैठक गरेको, सहमतिको प्रयासकाबीच ११ पुसमा एकलौटीरुपमा महाधिवेशनको कार्यतालिका ल्याएको, विधानको महत्वपूर्ण धारा निलम्बन गरेको भन्दै यी विषय सच्याउनुपर्ने उनीहरुको माग छ ।
देउवाले गरेको एकलौटी प्रयासबारे जिल्ला सभापतिहरुलाई जानकारी गराउने र जिल्लामा आफ्नो पक्षको स्थितिबारे उनीहरुबाट जानकारी लिने तयारीमा यो समूह छ ।