काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
बुधवार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भुमिका विषयक कार्यक्रमा बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन् ।
उनले अस्पतालहरुमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरु के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे ।
उनले सो काम शुरु भइसहेको भन्दै अब त्यसप्रकारको समस्या नहुने बताए । त्यस्तै ओपिडि टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए । उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए ।
उनले भने, ‘अब चाँडै वीर हस्पिटलले सेवा वृद्धि गर्दैछ । कुन अस्पतालमा आइसियु बेड छ ? इमर्जेन्सी बेड छ, वा सिसियु बेड छ ? वा खालि छ, छैन छ भने कति छ ? बिरामीहरुलाई भ्रम हुन थाल्यो । ठूला मान्छेले फोन गरेपछि बेड पाइन्छ भन्ने मानसिकता हुन थाल्यो । गरिबहरु जाँदाखेरी नपाउने भन्ने हुन थाल्यो । त्यसैले मैले देशभरका अस्पतालहरुमा के छ अवस्था वेबसाइटमा राखेर सबैलाई क्लियर गर्नु भनेर मैले निर्देशन दिएको छु । त्यो काम शुरु भइरहेको छ । अब त्यो समस्या हुँदैन । ओपिडी अनलाइन टिकट बुक गर्ने प्रक्रिया अगाडी बढाउन भनेको छु । प्रक्रिया शुरु हुन थालेको छ । अनलाईन र फिजिकल्ली दुईवटै किसिमले टिकट पाउनसक्छौँ अहिले । वीर अस्पतालमा आइसियु बेडहरु बढ्दैछ । इमर्जेन्सी, वार्डहरुमा बेड बढ्दैछ । डायलाइसिसमा सुधारका पक्षहरु अगाडी बढ्दैछ ।’
उनले संसारभरमा सुर्तिजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताए ।
उनले सुर्तिजन्य पदार्थमा कम्तिमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिव बिरामीहरुको उपचारमा प्रयोग गर्नुपर्ने बताए । उनले गुलियो पेय पदार्थ र जंक फुडबाट पनि नागरिकलाई टाढा राख्नुपर्ने बताए ।