logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

    जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

    994
    Shares
    जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ ।

    विपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताल मेथिनकोट अस्पताल अभावकै बीच पनि सेवा प्रवाह गरिरहेको छ ।

    मुख्यतया तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका नागरिकलाई सेवा प्रदान गर्न सो अपस्ताल स्थापना गरिएको हो । अस्पतालले चौबीसै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, एक्सरे फार्मेसी सेवा, विगत एक महिनादेखि हरेक दिन भिडियो एक्सरे सेवासमेत दिँदै आएको छ । तर विशेषज्ञ चिकित्सक अभावका कारण सेवाग्राहीको रोजाइको केन्द्र भने बन्नसकेको छैन । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालमा अब छिट्टै डायलायसिस, शल्यक्रिया सेवा र ब्लड बैंक सेवा सञ्चालन हुने अस्पतालका डा आनन्दमणि उपाध्यायले बताए । ‘आइसीयू र एनआइसीयू सेवा सञ्चालनसमेत गर्ने तयारी छ’, उनले भने ।

    प्रदेश सरकारबाट प्राप्त पाँचवटा डायलायसिस मेसिन जडान गर्ने काम भइसकेकाले अब छिट्टै सो सेवासमेत सुरु हुने भएको छ । यी सबै सेवा सञ्चालनका लागि भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभाव मुख्य चुनौती बनेको छ ।

    पचास शय्याको अस्पताल सञ्चालनका लागि पर्याप्त भौतिक संरचना आवश्यक भए पनि अहिले पूरानै संरचनाबाट सेवा दिनुपर्ने बाध्यता रहेको डा उपाध्याय बताउँछन्। ‘दैनिक ७०–७५ जनाले सेवा लिइरहेका छन्’, उनले भने ।

    अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा मधुकर दाहालले अस्पतालको सेवालाई चुस्तदुरुस्त गर्न कोसिस गरिरहेको बताए । जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक लठ्याउने औषधि नहुँदा सेवा सुरु गर्न नसकेको उनको भनाइ छ ।

    अस्पतालका सुपरिटेण्डेन्ट डा सारग जर्गामगर अध्ययन बिदामा गएपछि करिब १० महिना स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा पुरुषोत्तमराज सेढाईँले हेर्दै आएका थिए। अहिले दुई महिनादेखि निमित्त सुपरिटेण्डेन्ट डा दाहालको नेतृत्वमा अस्पताले सेवा प्रवाह गर्दै आएको छ ।

    मेथिनकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले सेवा प्रवाहमा वृद्धि भए पनि भौतिक संरचनाको अभावका कारण सोचेजस्तो सेवा दिन नसकेको बताए। बजेट र जनशक्ति अभावले गर्दा भएको उपकरण सञ्चालनमा ल्याएर सेवा दिन नसकेको उनी बताउँछन्।

    विसं २०५४ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएर २०६६ मा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो । विसं २०७७ मा सङ्घीय सरकारले ५० शय्याको अस्पतालमा रुपान्तरण गरेर प्रादेशिक जिल्ला अस्पतालका रूपमा सेवा प्रवाह गर्दै आएको छ । अस्पतालमा हाल करिब ७० जनशक्ति कार्यरत छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend