काठमाडौं । सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको छ।
आज बिहान ११ बजेदेखि जारी बैठकमा नागरिकतालगायत विषयमाथि छलफल भइरहेको रास्वपाका एक सांसदले जानकारी दिए ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।
रास्वपाका सभापति रवि लामिछानेले संसदीय मूल्य,मान्यता र राष्ट्रहितविपरीत गएर विधेयक प्रमाणीकरण गरिएको भन्दै आलोचनात्मक टिप्पणी गरेका थिए ।
‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रिक संसदीय मूल्य, मान्यता र राष्ट्रहितविरूद्ध छ,’ उनले सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।
तर, पार्टीका केही सांसदले फरक धारणा राखेपछि एकरुपता कायम गर्न छलफल भइरहेको बताइएको छ ।
रास्वपाले सरकारले ल्याएको संसद पूर्वाधार विकास कार्यक्रमबारे पनि छलफल गरिरहेको बताएको छ।
माओवादी केन्द्रलगायतका सांसदहरूले सांसद विकास कोष ब्युँताउन नहुने बताइरहँदा रास्वपाले पनि यसबारे एकीकृत धारणा बनाउन लगेको हो ।
संसदीय दलको बैठकपछि रास्वपा केन्द्रीय समितिको बैठक पनि आजै बस्दैछ।