काठमाडौं । प्रथम सिक्किम नेशनल पिकलबल प्रतियोगितामा नेपाली खेलाडीले एक स्वर्णसहित १५ पदक जित्न सफल भएका छन् ।
भारतको सिक्किममा आयोजित सो प्रतियोगिता राष्ट्रिय प्रतियोगिता भए पनि नेपाल पाहुना टोलीका रुपमा सहभागी भएको थियो ।
नेपालका लागि पुरुष एकलतर्फ कुमार प्रधानले स्वर्ण पदक दिलाए । उनले फाइनलमा गुजरातका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । स्वर्ण विजेता कुमार प्रधान नेपाली टोलीका प्रमुख प्रशिक्षक समेत हुन् ।
यस्तै, महिला एकल र डबल्सतर्फ गरी जर्जिया चौधरीले तीनवटा रजत पदक हात पारिन् । स्वस्तिका महर्जन एक रजत र दुई कांस्य पदक जितिन्। प्रजुना अधिकारीले एक रजत र दुईवटा कांस्य पदक जितिन् ।
यसैगरी, पुरुषतर्फ जनक फडेराले दुईवटा रजत पदक जिते। किरण खनालले एक रजत र सौरभ भण्डारीले एक कांस्य पदक हात पारे।
प्रतियोगितामा नेपालको एक टोलीसँगै भारतका १० वटा प्रान्तका खेलाडीको उक्त प्रतियोगितामा सहभागिता रहेको थियो ।