काठमाडौं । टी–२० सिरिजको पाँचौं खेलमा घरेलु टोली मलेसियाले नेपालसमक्ष १ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बांगीस्थित ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको मलेसियाले निर्णायक खेलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो ।
उसका लागि वान जुलिया मोहम्मद रोस्दीले ४७, विनीफ्रेड आनी दुराईसिंघमले २४ र महिराह इजाती इस्मालीले २० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
नेपालका लागि कविता कुँवरले ४ ओभरमा १२ रन खर्चेर सर्वाधिक २ विकेट लिइन् । यस्तै, ईश्वरी विष्टले २ ओभरमा १५ रन दिएर १ विकेट हात पारिन् । नेपाललाई २ विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।
पाँच खेलको सिरिज २र२ को बराबरीमा रहेकोले आजको खेल निर्णाय हुने छ । सिरिजको पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हरायो । तेस्रो खेलमा २७ रनले जितसँगै सिरिजमा अग्रता लिएको नेपालले चौथो खेलमा ४ विकेटको पराजय ब्यहोरेको थियो ।