logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

    तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

    1.9K
    Shares
    तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । तीन वर्ष अघिको बाढीले स्थानीयलाई भने अझै झस्काइरहन्छ ।

    पानी पर्यो भने स्थानीय राति उठेर खोलामा बहाव के कति छ भनेर हेर्न पुग्छन् । उनीहरु त्रासमा बाँचिरहेका छन् । सम्पत्ति र आफन्त गुमाएका निमप्रकाश विक भन्छन्– “त्यो रात सम्झिँदा पनि मुर्छा पर्छु, अहिले त आकाश गड्याङगुडुङ गर्दा पनि झस्किन्छु ।”

    बाढीबाट विकले २५ वर्षीया श्रीमती चनी, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरो गुमाएका थिए । भएभरको जायजेथा सबै बाढीले बगाएको थियो । परिवारका सबै सदस्यलाई बाढीले बगाएपछि विक अहिले एक्लो बनेका छन् । उनी अहिले ढोरपाटन–९ सुप्राङमा बसेका छन् ।

    “पानी पर्दा जागराम बस्नु पर्ने अवस्था छ”, उनले भने । बाढी आएको रात आफू बुकीमा पूजा गर्न गएकाले ज्यान जोगिएको विक बताउछन्। बाढीले सबै बगाउँदा उनीसित अब गरिखाने जग्गा छैन । नगरपालिका तथा विभिन्न सङ्घ संस्थाबाट प्राप्त सहयोगले घर बनाएको उनको भनाइ छ ।

    विक भन्छन्, “जसोतसो दैनिकी चलिरहेको छ, जग्गा भए खेती किसानी गरेर खान पाइन्थ्यो ।”

    सोही बाढीमा ढोरपाटन–९ का कुलबहादुर विकले परिवारका चार सदस्य गुमाए । बाढीले उनको घरजग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षीया नातिनी बगाएको थियो ।

    बाढीले ढोरपाटन–६, ७, ८ र ९ का एक सय ३१ घरमा क्षति पुर्याएको थियो । एघार जलविद्युत् आयोजनाको विद्युत्गृह तथा नहर, एउटा स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल, १० काठेपुल र दुई विद्यालयसमेत बगाएको थियो । रासस

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend