धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको घट्नामा मृतकका सासू–ससुरासहित तीन जनालाई पक्राउ गरिएको छ ।
कविताको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको थियो । उक्त घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, सासू ५० वर्षीया लहरी बुढा र ज्वाईं नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढालाई प्रक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी मामिलामा विवाद उत्पन्न हुँदा बुहारीको हत्या गरी शव जंगलमा गाडेको र ज्वाईं नाता पर्ने जयबिरले शवलाई गाड्ने कार्यमा सहयोग गरेको अभियोगमा तीनै जना पक्राउ परेका हुन् ।
१८ जेठमा पारिवारीक विवादका क्रममा ससुरा डिल्लीसिंहले भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई चिरपटले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरी निरीक्षक साउँदको भनाई छ। हत्या पछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घरभन्दा झण्डै ३ किलोमिटर टाढा रहेको गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा पुर्याएर ८ फिट गहिरो खाल्डो खनेर गाडेको बताइएको छ ।
उनीहरुले शव गाडिसकेपछि बुहारी हराएको भन्दै प्रहरीमा निवेदन दिएका र पछि उनीहरु फरार भएका थिए । २२ जेठसम्म कञ्चनपुरको बिचफाँटास्थित आफन्तको घरमा बसेका उनीहरुलाई शनिबार भने घरबाटै पक्राउ गरिएको प्रहरीले बताएको छ ।