logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संसदमा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी

    संसदमा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी

    1.1K
    Shares
    संसदमा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन् । आईतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद बैठकमा अराजकता देखाएको बताएका हुन् ।

    उनले यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गरे । उनले संसद राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न आग्रह गरे । सांसद दाहालले शाहीले प्रतिनिधि सभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

    नियमापत्तिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै उनले संसदीय नियमावलिभन्दा बहिर गएर बोलेको उल्लेख गरे । सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिएको उनको भनाई छ । उनले संसद बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै आफ्नो कमजोरी सच्याउन पनि आग्रह गरे ।

    उनले भने, ‘अन्तिम समयमा सभामुख समक्ष ज्ञानेन्द्र शाहीले समय माग्नुभयो, नियमापत्ति गर्नुभयो । नियमापत्ति गरेपछि सभामुखले के को नियमापत्ति माननीय भनेर सोध्नुपथ्र्यो । कुन धारा अन्तर्गत ? कुन बुँदा अन्तर्गत ? कुन विषयसँग ? विषयवस्तु केन्द्रित गरेर मात्रै नियमापत्ति गर्न पाइन्छ । आज ज्ञानेन्द्र शाहीले बोल्नै पाउनुहुन्न थियो । उहाँले बोल्ने नै हो भने भोलि विशेष समय लिएर, आकस्मिक समय लिएर त्यसपछि सभामुखले अनुमति दिएपछि मात्र बोल्न पाइन्थ्यो । उहाँले आज बोल्नु नै संसदीय नियमावली बाहिर रहेर बोल्नुभयो । सभामुखले पनि संसदीय नियमावली बाहिर रहेर बोल्न दिनुभयो । यि दुईवटै गलत छन् । विशेषवस्तु के थियो भन्ने होइन, उहाँ असाध्यै अराजक हो । सामन्तवादको प्रतिनिधिमुलक संस्था हामीले वर्षौंदेखि लडेर फालेको, चिहानमा पुरेको राजसंस्था फेरि ब्युँताउँछु, मरिसकेको लाशलाई फेरि म पुर्नजीवन दिन्छु भनेर भ्रमित पारेर सत्ता साझेदार दलहरु बिचको आन्तरिक अन्र्तबिरोधमा खेलेर जुम्लाबाट प्रतिनिधित्व भएर आएका ज्ञानेन्द्र शाही दुनियाँलाई थाहा छ, जुम्ली जनतालाई पनि थाहा छ, तर उनी यहाँ आइसकेपछि उनले संविधान मान्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र मान्नुपर्छ । यो सदनभित्र । यो सदनले राजतन्त्र चिन्दैन । उनी रत्नपार्कमा भाषण गर्न सक्छन् । जुम्लामा आमसभा गर्न सक्छन् । हामीलाई राजसंस्था चाहियो भनेर आफ्नो मुद्दा राख्न सक्छन् । सदन आफ्नो मुद्दा राख्ने ठाउँ होइन । आफ्नो मुद्दाको पैरवी गर्ने ठाउँ होइन । त्यो पनि राजसंस्थाको । हजारौँ जनताको बलिदानमार्फत हामीले चिहानमा पुरेको राजसंस्थाको बारेमा वहस गर्ने थलो होइन । संविधानको मातहतमा रहेर र प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर आफ्नो अभिव्यक्ति राख्न म ज्ञानेन्द्र शाहीलाई आग्रह गर्न चाहन्छु । त्यसैगरी सभामुखलाई कमसेकम विषयवस्तुको कन्टेन्टमा गएर नियमापत्ति गर्न पाइन्थ्यो कि पाइदैन थियो, के विषय थियो ? त्यो नसोधिकन बोल्न दिने कुरा उहाँको पनि कमजोरी भएको छ । उहाँलाई पनि यो कमजोरी सच्याउन म आग्रह गर्दछु ।’

    सांसद दाहालले जनताको खबरदारीका कारण प्रतिपक्षी नेकपा (एमाले) नागरिकता विधेयकलाई स्वीकार्ने अवस्थामा पुगेको उल्लेख गरे । उनले बजेटको न्यायोचित वितरण गर्नुपर्नेमा जोड दिए । उनले मानव विकास सूचकांकमा जुन जिल्ला र पालिकाहरु पछि परेका छन् सोही आधारमा बजेट विनियोजन गर्नुुपर्ने बताए । सरकारले पहुँचमुखी र मन्त्रीमुखी बजेट नल्याइ आवश्यकता र उपयोगिताको आधारमा बजेट ल्याउने उनले विश्वास व्यक्त गरे ।

    उनले भने, ‘न्यायोचित वितरण गर्नुपर्छ बजेटको । अर्थमन्त्रीले न्याय सम्पादन गर्नुहुन्छ । मानव विकास सुचकांकको आधारमा जुन जिल्ला र पालिका पछि परेका छन् त्यसका आधारमा बजेट विनियोजन गर्नुपर्छ । पहुँच र मन्त्रीमुखी बजेट ल्याउँदैन सरकारले । आवश्यकता र उपयोगिताको आधारमा बजेट विनियोजन हुन्छ ।’

    उनले पशुपतिनाथ मन्दिरको जलहरीमा भएको अनियमितता छानबिन नभएसम्म यो विषय नमर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend