पौष २८ काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रतिनिधीसभा सांसद भीम रावलले बालुवाटारसंग सम्बद्दित व्यक्तिले आफुलाई ज्यान मार्ने धम्कि दिएको बताएका छन्। एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा नेकपा नेता रावलले आफुलाई बालुवाटारमा बस्ने व्यक्ति बाटनै आफुलाई यस्तो धम्कि आएको बताएका हुन्।
लेडि डायनाले जसरी ज्यान गुमाउनु पर्यो तिमीले पनि त्यसरी नै ज्यान गुमाउनु पर्ला भनेर मलाई धम्की दिइयो, नेता रावलको भनाइ थियो। जिम्मेवार व्यक्तिबाट नै यस्तो धम्कि आउनु विडम्बना भएको भन्दै रावलले भौतिक शरीर नरहे पनि उसको राष्ट्र र जनताको हितमा अभिव्यक्त बिचारहरु नमेटिने बताए। ‘मलाई मार्छु भन्ने व्यक्तिले के सम्झनु पर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिस्ट आन्दोलन र देशभक्ति पूर्ण आवाजहरु हराएर जाँदैनन् भन्ने स्मरण गर्नुपर्छ’ उनले भने,‘मदन भण्डारीको हत्या गर्दा मदन भण्डारीका देशभक्तपूर्ण आवाज नेपाली धर्तीबाट रोकिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरुले राम्ररी स्मरण गर्नुपर्ने हुन्छ ।’
तर यस्ता धम्कीबाट आफू नडराउने र कोही व्यक्ति पनि यो धर्तीमा अजर अमर छैनन् भन्ने कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्ने उनले बताए। देशको पक्षमा बोल्दा धन्यवाद आउनुको सट्टा हत्याको धम्की आउनु दुखद भएको भन्दै उनले यस्तो धम्की दिनेहरु निरंकुश व्यवस्थामा पनि भएको र ज्यानको धम्कीबाट नडराउने र सदैव देशको लागि दृढ भएर लागिरहने बताएका छन ।
आफूले पार्टीको स्थायी कमिटी बैठकमा अमेरिकाले नेपाललाई दिने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे कुरा उठाउँदा त्यसको प्रतिवाद राजनीतिक रुपमा नभएर ज्यान मार्ने धम्की तर्फ गएको उनको दाबी छ । ‘एमसीसी जुन बुँदाहरु उठाएको छु यो झुठा हुन् भनेर भने भयो । यो यति कारण पास गर्नुपर्छ । यो सहमतिमा रावलले भनेको कुरा लेखिएको छैन भनेर खण्डन गरे हुन्छ’ नेता रावलले भने,‘तर ज्यानको धम्की दिने कुरा आजको राजनीतिक प्रणालीसँग मेल नखाले कुरा हो ।’
नेता रावलले एमसीसीबारे पार्टीभित्र फरक मत राख्दै आएका छन्। सरकार र अमेरिकाको एमसीसी बीच भएको सम्झौताका कतिपय प्रावधान नेपालको हितमा नरहेको बताउँदै आइरहेका छन्।