काठमाडौं । हङकङमा जारी एसीसी महिला टी ट्वेन्टी इमर्जिङ टिम्स एशिया कपमा पाकिस्तान ‘ए’ सँग नेपाल ९ रनको झिनो अन्तरले हार ब्यहोरेको छ ।
हङकङमा जारी प्रतियोगितामा पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले १९ ओभर २ बलमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो।
नेपालले जवाफी ब्याटिङमा उत्रिएको निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि कविता कुँवरले सर्वाधिक २० रन बनाइन्। यस्तै, कविता जोशीले १५ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका लागि इन्दु वर्माले ३ विकेट लिइन्। कविता कुँवर, कविता जोशी र सीता राना मगरले समान २/२ विकेट हात पारे ।
उता पाकिस्तान ‘ए’का लागि ब्याटिङतर्फ शवाल जुल्फिकरले २८ रन बनाइन्। फतिमा सानाले १६, सदाफ शामसले १२ र गुल फेरोजाले ११ रन बनाए। अरूले दोहोरो योगको रन जोड्न सकेनन् ।
बलिङतर्फ पाकिस्तान ‘ए’ की तुबा हसन र सइदा अरूब शाहले २/२ विकेट लिए। यस्तै अनोशा नासिर र उम्मे हानीले १/१ विकेट लिए ।
अब नेपालले प्रतियोगितामा आफ्नो दोस्रो खेल १५ जुनमा खेल्नेछ। भारत ‘ए’ विरुद्धको उक्त खेलपछि नेपालले १७ जुनमा हङकङ विरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ।
नेपाल, भारत, पाकिस्तान र हङकङ समूह ‘ए’मा छन्। मलेशिया, यूएई, बाङ्लादेश र श्रीलङ्का समूह ‘बी’ मा छन्।