काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ ।
विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि कुनै अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको भन्दै निजी क्षेत्र निराश बनेको हो । यतिबेला विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको ८० अर्ब भन्दा बढी लगानी डुब्ने चिन्ता यस क्षेत्रका उद्योगी व्यवसायीहरुले व्यक्त गरेका छन् । विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको ८० अर्बको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारबाट नै पहल नभएको आरोप निजी क्षेत्रको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले लुम्बिनीमा होटल,पर्यटन क्षेत्रमा अर्बौं लगानी गरेको बताए । उनले निजी क्षेत्रले अर्बौंको लगानी गरेपनि विमानस्थल राम्रोसँग सञ्चालनमा आउन नसक्दा निजी क्षेत्र निराश रहेको बताए ।
उनले विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण सरकारले बनाउन नसक्दा उद्योगी व्यवसायीहरुमा आफ्नो लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दै गएको बताए । उनले विमानस्थललाई आधार बनाएर लगानी गरिसकेकाले सरकारले विमानस्थल सञ्चालनको लागि पहल गर्न आवश्यक रहेको बताए । उनले ठूला तारे होटलदेखि साना किराना पसल, सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानमा लगानी भएको दाबी गरे ।
उनले विमानस्थल सञ्चालनमा आएसँगै २० हजार मानिसहरुको आवातजावत लुम्बिनीमा हुने अपेक्षाले व्यवसायीहरुले लगानी वृद्धि गरेपनि लगानी अलपत्र रहेको बताए । उनले उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण समेत जोखिममा परेको बताए । अध्यक्ष शर्माले प्रधानमन्त्रीको भारत भ्रमणबाट राम्रो संकेत प्राप्त गरेको भन्दै यसलाई सरकारले कार्यान्वयनमा ल्याएर निजी क्षेत्रको लगानी संरक्षण गर्न आवश्यक रहेको बताए । उनले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके देशले चाहेको अर्थतन्त्र चलायमान हुनसक्ने बताए ।
उनले भने, ‘लुम्बिनीमा निजी क्षेत्रको ८० अर्ब रुपैयाँ लगानी भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भयो । राज्यको ४० अर्ब रुपैयाँ लगानी भएको छ । एडिबीले विमानस्थलमा लगानी गरेको छ । सम्भाव्यता अध्ययन नगरी लगानी भएको छैन । लुम्बिनीका व्यवसायीहरु चिन्तित र दुःखी छौं । निजी क्षेत्रले विमानस्थल परियोजना बनेको आधारमा होटल,पर्यटन,रेष्टुरेण्ट,हार्डवयर क्षेत्रमा लगानी वृद्धि गर्दै ८० अर्ब रुपैयाँ लगानी गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलपूर्ण रुपमा सञ्चालन भएर २० हजार बढीको मानिसहरुको आवातजावत भएर चहलपहल बढ्छ । यो पेशा व्यवसायीलाई वृद्धि गर्छौं भन्ने थियो । त्यस्तै,शिक्षा,प्रविधिको क्षेत्रमा लगानी बढेको छ । तर अहिले ती लगानीहरु अलपत्र भएका छन् । ७०÷३० प्रतिशत वित्तीइ संस्थाबाट ऋण लिएका छौं । उक्त लगानी जोखिममा परेको अवस्था छ । नियमित रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु हुन सकेको छैन । प्रधानमन्त्रीको भारत भ्रमणबाट राम्रो संकेत प्राप्त गरेका छौँ । तर यसलाई सरकारले कार्यान्वयनमा ल्याएर निजी क्षेत्रको लगानी संरक्षण हुने थियो । देशले चाहेको अर्थतन्त्र चलायमान पनि हुने थियो । अब लुम्बिनी प्रदेशका लागि सरकारले दुई देशबीचको समन्वय गर्न आवश्यक छ ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा भारत सरकारसँग पहल गरेकाले आशाको संकेत देखिएको बताए । उनले विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रमा उद्योगी व्यवसायीहरुले धेरै ठूलो लगानी भएकाले तत्कालको लागि जोखिम देखिएको बताए ।
उनले सरकारले विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याएर निजी क्षेत्रको अर्बौंको लगानी सुरक्षित बनाउन आवश्यक रहेको बताए । उनले विमानस्थल पूर्णरुपमा सञ्चालनमा आएर मानिसहरुको चहलपहल बढ्दा लुुम्बिनी क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षाका आधारमा निजी क्षेत्रले लगानी गरेको बताए ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणमा भएको सहमतिले केही समयमा नै परिणाम आएर निजी क्षेत्रले लगाएको ८० अर्बको लगानी सुरक्षित हुने विश्वास रहेको बताए । उनले उद्योगी व्यवसायीहरु तत्काल आत्तिहाल्न नहुने बताए । उनले सरकार निजी क्षेत्र मिलेर अघि बढेमा अहिले देखिएको अर्थतन्त्रको समस्या समेत समाधान हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै गर्दा लुम्बिनीका पर्यटन व्यवसायीहरुले धेरै ठूलो लगानी गरेका छन् । लुम्बिनीमा अर्ब मात्रै नभएर खर्ब बराबरको लगानी भएको छ । विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आएर मानिसहरुको चहलपहल बढ्दा लुुम्बिनी क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षाका आधारमा निजी क्षेत्रले लगानी गरेको हो । तर विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सरकारले विमानस्थलपूर्ण रुपमा सञ्चालनमा ल्याउनको लागि प्रधानमन्त्रीको भारत भ्रमणको प्रमुख एजेण्डा बनाउन आग्रह गरेका थियौं । विमानस्थल सञ्चालनको लागि भारत सरकारसँग कुराकानी भएको भन्ने बुझेका छौं । यसको केही समयमा नै परिणाम आएर निजी क्षेत्रले लगाएको ८० अर्बको लगानी सुरक्षित हुने विश्वास रहेको छ । तत्काल आत्तिहाल्नुपर्ने अवस्था छैन । सरकार निजी क्षेत्र मिलेर अघि बढेमा अहिले देखिएको अर्थतन्त्रको समस्या समेत समाधान हुने छ ।’
त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गर्दै पटक–पटक मन्त्री, प्रधानमन्त्री, सचिव, ठूला राजनीतिक दलका नेता आउँदा निजी क्षेत्रले ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म पहल नभएको बताए । उनले उद्योगी व्यवसायीहरुले विभिन्न समयमा धर्ना समेत दिएर दबाबमूलक कार्यक्रम सञ्चालन गरेपनि सुनुवाई नभएको गुनासो गरे ।
उनले सरकारले ४० अर्ब लगानी गरेको क्षेत्रलाई आधार मानेर निजी क्षेत्रले ८० अर्ब लगानी गर्दा जोखिम देखिएको बताए । उनले विमानस्थल सञ्चालनमा आएपछि पर्यटकहरुको आगमनमा वृद्धि हुने अपेक्षाले निजी क्षेत्रले लगानी गरेपनि विमानस्थल चल्न नसक्दा व्यवसायी निराश भएको बताए । उनले विमानस्थलका भौतिक पूर्वाधार बनेपनि सञ्चालनमा आउन नसक्दा यो क्षेत्रका उद्योगी व्यवसायीहरु दुःखी भएको उल्लेख गरे ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्रै उडान भरेर केही नहुने भन्दै नेपाली ध्वजावाहक विमानले नियमित उडान नभरेसम्म अन्य वायुसेवा कम्पनीहरु नआउने बताए । उनले सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा उडान हुँदा लुम्बिनीबाट एउटा उडान गर्ने व्यवस्था लागू गर्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब बढी लगानी गरेको छ । उक्त विमानस्थललाई आधारमा मानेर निजी क्षेत्रले विभिन्न क्षेत्रमा लगानी गरेका छौं । विमानस्थल सञ्चालनमा आएपछि पर्यटकहरुको आगमनमा वृद्धि हुन्छ । लुम्बिनीको उद्योग,व्यापार व्यवसाय फस्टाउँछ भन्ने आशाले निजी क्षेत्रले लगानी बढाएको छ । भौतिक पूर्वाधार बनेपनि सञ्चालनमा आउन नसक्दा यो क्षेत्रका उद्योगी व्यवसायीहरु अत्यन्तै दुःखी छौं । निजी क्षेत्रले विमानस्थल सञ्चालनको लागि धेरै पटक धर्ना समेत बसेका छौं । प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र समेत दिएका छौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा उडानले केही हुँदैन । विमानस्थलमा नेपाली ध्वजावाहक विमान नियमित उडान नभरेसम्म अन्य वायुसेवा कम्पनीहरु आउँदैन । आधा भन्दा बढी मानिसहरु काठमाडौं जान झन्झट मान्ने भन्दै लुम्बिनी विमानस्थलबाट नियमित उडानको व्यवस्था गर्नुपर्छ । सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा उडान हुँदा लुम्बिनीबाट एउटा उडान गर्ने व्यवस्था लागू गर्नु आवश्यक छ ।’
विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । केही समय पहिला अलजजिराले अन्तर्राष्ट्रिय उडान भरेपनि अहिले उडान भर्न छाडेको छ । गत मंगलवार नेपाल वायुसेवा निगमको मलेसियाबाट आएको एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अब निगमले एउटा उडान उक्त विमानस्थलबाट गर्ने तयारी गरिरहेको छ । विमानस्थल निर्माणसँगै भैरहवा आसपासका क्षेत्रमा तारे होटल र साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन् ।