काठमाडौं । बझाङ दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।
सिंहसहित यो दुर्घटनामा ३ जनाले जीवन गुमाएका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै ज्यान गएको थियो ।
मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा कोहलपुर मेडिकल कलेजमा नेपालगञ्ज ल्याइएको थियो । उनको उपचारको क्रममा निधन भएको सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए ।
सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने अहिले उपचार जारी रहेको छ ।
मन्त्री सिंह सवार सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो ।