काठमाडौं । गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीनैजनाको अन्तिम संस्कार शनिबार गरिने भएको छ ।
सिंहका जेठा छोरा अभिशेक डेनमार्कमा रहेकाले उनी फर्केपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । सिंहका छोरा शुक्रबार नेपाल आइपुग्ने आफन्तले बताएका हुन् ।
त्यतिन्जेलसम्म तीनैजनाको शव जिल्ला अस्पतालमा राखिने प्रहरीले जनाएको छ । बझाङमा मंगलबार भएको गाडी दुर्घटनामा मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजु जयादेवीको निधन भएको थियो ।
मन्त्री सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार धनगढीको रंगशालामा राखिएको थियो । सिंहको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी र मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय झन्डा ओढाए ।
पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र राजेन्द्रसिंह रावल, प्रदेश सरकारका मन्त्रीहरू, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, सर्वसाधारण, शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय तथा आफन्तले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
मन्त्रीको निधन भएको शोकमा सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको थियो साथै शोकमा राष्ट्रिय झन्डा आधा झुकाइएको थियो ।