काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संसदीय मामिला हेर्ने पत्रकारहरुले एउटै विधेयकहरु संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौंवर्षसम्म नआउने लगायतका विषयहरुमा कलम चलाउन नसकेको गुनासो गरे । उनले विधेयकहरु बारम्बार शुन्यमा झर्दा आम नागरिकहरुलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गरे ।
उनले भने, ‘एउटा विधेयक तयार पार्दा समय, लगानी,आर्थिक पक्ष त्यो विधेयकले दिने सेवा कति प्रभावित भएको हुन्छ, लिएर आयो ५/६ वर्षसम्म विधेयक थन्क्याउने, त्यसलाई अघि नबढाउने, एउटा सदनले पास गरेको अर्कोमा लगेर त्यत्तिकै राखेर त्यो शुन्यमा जाँदा के हुन्छ ? यस्ता कुरामा औंला ठड्याउनु पर्छ । कुन समितिमा गएर कति समय लाग्यो, विधेयक रोकेको कति भयो ? किन राख्यो त्यसलाई उजागर गर्नुपर्छ । सभामुख, अध्यक्ष, मन्त्रीहरुले के गरे भन्नेमा खोजिखोजि नभएको पनि लेख्ने तर विधेयक ल्याएर कहाँ कति रोकियो, किन रोकियो त्यसको सोधीखोजी नगर्ने गर्नु हुँदैन । विधेयक कहाँ कसरी अड्कियो, त्यसको असर के ? त्यसमा नआउने कसरी संसदीय मामिला कस्तो हुन्छ ? यस्ता कुरामा हामीले ध्यान दिनुपर्छ । तपाईहरुले यसमा लेख्दा विधेयक छिटो आउँछ । दबाब बढ्छ ।’
अध्यक्ष तिमिल्सिनाले पत्रकारहरुले विधेयक ल्याउन भइरहको ढिलासुस्तीमा दबाब दिनसके विधेयकहरु समयमा नै आउने बताए ।