एजेन्सी । सामाजिक सञ्जाल ट्विटरका मालिक एलन मस्कले शनिबार आफ्नो प्लेटफर्ममा पढ्ने ट्विटको सङ्ख्या घटाउने निर्णय गरेका छन्।
शनिबार विभिन्न ट्विटमा उनले अब अनभेरिफाईड अकाउन्टबाट एक दिनमा बढीमा १ हजार पोस्ट मात्र पढ्न सकिने यद्यपि, नयाँ अप्रमाणित खाताको हकमा यो सीमा ५०० मात्र हुने जनाएका छन् ।
यस्तै, प्रमाणित खाताको मामलामा, एक दिनमा अधिकतम् १० हजार पोस्टहरू पढ्न सकिनेछ । हुन त मस्कले शनिबार यी ट्विट नम्बरहरू दुई पटक संशोधन गरेका हुन् ।
सबैभन्दा पहिला गरिएको ट्विटमा उनले ‘डेटा स्क्र्यापिङ’ र ‘सिस्टम म्यानिपुलेसन’ को बढ्दो स्तरको समस्या हल गर्नका लागि आफूहरूले निम्न ‘अस्थायी सीमा’ कार्यान्वयनमा ल्याएको बताए ।
उनले भने, ‘अब भेरिफाइड अकाउन्टबाट हरेक दिन ६ हजार पोस्ट मात्रै पढ्न सकिन्छ । अनभेरिफाइड अकाउन्टको मामिलामा यो सीमा ६०० पोस्ट प्रतिदिनसम्म सीमित छन् । नयाँ अनभेरिफाइड अकाउन्टको मामिलामा यो सीमा ३०० पोस्ट प्रतिदिनसम्म सीमित छ ।’
उनले त्यसपछि अर्को ट्विटमा यी तीन वटै आँकडा परिवर्तन गरिदिए। उनले यो आँकडा क्रमशः ८,०००, ८०० र ४०० हुने बताए ।
यद्यपि, अर्को ट्विटमा उनले यसको सीमालाई पुनः फेरेर यसलाई १० हजार, एक हजार र ५०० पुगाए ।
एलन मस्कको डेटा स्क्र्यापिङको तात्पर्य के हो, त्यो अहिलेसम्म स्पष्ट छैन । तर यस्तो लाग्छ कि उनको कोसिस आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीद्वारा उपयोग गरिएको डेटालाई बढी मात्रामा अङ्कुश लगाउनु हो ।
सरल भाषामा भन्ने हो भने ‘डेटा स्क्र्यापिङ’ को अर्थ इन्टरनेटबाट जानकारी तान्नु हो । मस्कका अनुसार डाटाको अत्यधिक प्रयोगले सामान्य उपभोक्ताले खराब सेवा पाइरहेका छन् ।