एजेन्सी। राहुल गान्धीको दुई वर्षको जेल सजाय यथावत् रहने वा राहत पाउने भन्ने निर्णय आज हुँदै छ । गुजरात उच्च अदालतले आज बिहान ११ बजे फैसला गर्ने भएको हो ।
गएको २३ मार्च २०२३ मा सूरतको सत्र अदालतले राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको थियो । यद्यपि, यो फैसलाको २७ मिनेटपछि उनले जमानत पाएका थिए । त्यसको भोलिपल्ट २४ मार्चमा उनको सांसद पद गुमेको थियो ।
राहुलले उक्त निर्णयमा पुनर्विचार गर्न सुरत अदालतमा रिभ्यु पिटिशन दर्ता गराएका थिए तर अदालतले त्यसको सुनुवाइ गर्न अस्वीकार गरेको थियो। यसपछि राहुल गान्धीले २५ अप्रिलमा गुजरात हाईकोर्टमा रिभ्यु पिटिशन दायर गरेका थिए । त्यसपछि मइ २ मा उच्च अदालतले यस विषयमा फैसला सुरक्षित राखेको थियो ।
यदि राहुलले यस मामलामा राहत पाए भने उनको सांसद पद पुनःकायम हुनेछ र उनी २०२४ को लोकसभा चुनाव लड्न सक्षम हुनेछन् । त्यसो भएन भने ८ वर्षसम्म उनले चुनाव लड्न पाउने छैनन् ।
२०१९ मा राहुल गान्धीले कर्नाटकको विधानसभामा मोदी उपनामको बारेमा बयान दिएका थिए । उनले भनेका थिए–‘किन सबै चोरको थर मोदी हुन्छ ।’ यसपछि गुजरातका भाजपा विधायक पूर्णेश मोदीले राहुलविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा उनलाई दोषी ठहर गरिएको थियो ।