काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले मंगलवार थप दुई जना पक्राउ परेका छन् ।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरूमाथि मन्त्रिपरिषद्को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप रहेको छ । त्यो फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा समक्ष पेश भएको पाइएको प्रहरीले बताएको छ ।
यसअघि आइतवार सीआईबीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको थियो ।
किर्ते तथा सङ्गठीतरुपमा सरकारी जग्गा अनियमितता गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन् । प्रहरीले अहिलेसम्म १४ जनालाई हिरासतमा लिइसकेको छ ।
विसं २०४९ देखि २०६९ सम्म सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको भेटिएको थियो । सीआईबीले सोही प्रकरणमा अनुसन्धान गरिरहेको छ ।