विराटनगर । लगातारको भारी बर्षाका कारण आएको बाढीले पूर्वी नेपालको तराई क्षेत्र प्रभावित हुन पुगेको छ । विभिन्न ठाउँमा बाढीका कारण डुवान भएको छ ।
सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको एक प्रहरी चौकी डुबानमा परेको छ । भोक्राहानरसिंह गाउँपालिका–८ मा अवस्थित सिसुवाधरमपुर चौकी डुबानमा परेको हो ।
डुबान भएपछि प्रहरीले प्रहरी चौकी छाड्नु परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए। सुनसरी खोलाको बाढी पसेका कारण प्रहरी चौकीको कम्पाउण्डभित्र ४ फिटसम्म पानी जम्न पुगेको छ ।
चौकी डुबानपछि विस्थापित भएका प्रहरी हरिनगरा गाउँपालिका–५ को सिसुवाधरमपुर आधारभूत विद्यालयमा गएर आश्रय लिएका छन् ।
सिंघिया खोलामा आएको बाढीले घर बगाएपछि मोरङमा तीन परिवार समेत विस्थापित हुन पुगेका छन् । मोरङको जहदा गाउँपालिका–३ मा भाथीगन्जमा बाढीले घर भत्किँदा ३ परिवार विस्थापित भएका मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए।
विस्थापित भएकालाई सुरक्षित स्थानमा सारिएको उनले बताए। सोही स्थानका अन्य दुई घर पनि उच्च जोखिममा परेका छन् ।
आज (शुक्रबार) बिहान सबेरैदेखि अविरल वर्षाका कारण खोलाहरुमा बाढी आएको छ । बाढीका कारण नदी किनारका बस्तीहरु जोखिमा परेका छन् । थुप्रै स्थानमा डुबानमा परेको जानकारी आए पनि थप क्षतिको विवरण प्राप्त भइनसकेको उनले बताए ।
मोरङका बूढी, सिंघिया, केसलीया, लोहन्द्रा, बक्राहालगायतका खोलामा बाढी आएपछि नदी किनार क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।