एजेन्सी । भारत प्रशासित जम्मुकश्मीरमा सोमबार भएको संयुक्त सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका भारतीय सेनाका अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
भारतीय सेनाको विशेष बल राष्ट्रिय राइफल्स र जम्मुकश्मीर पुलिस र अन्य बलसहितको संयुक्त अभियान सोमबार पुन्चको सिन्धारा क्षेत्रमा सञ्चालन गरिएको जनाउँदै उनीहरूले राति करिब ११ः३० बजे आतङ्ककारीहरूसँग पहिलो मुठभेड भएको बताएका छन् । सोही रात निगरानीका अन्य उपकरणसहित ड्रोन तैनाथ गरिएको थियो ।
मङ्गलबार बिहानैदेखि सुरक्षा बल र आतङ्ककारीबीच भीषण गोली हानाहान भएको थियो । संयुक्त कारबाहीमा मारिएका आतङ्ककारी विदेशी आतङकवादी भएको अनुमान गरिएको छ । उनीहरुको पहिचान स्पष्ट भइनसकेको र थप जानकारीको प्रतीक्षा गरिएको भारतीय सेनाले जनाएको छ ।
गत आइतबार पुन्च जिल्लाको नियन्त्रण रेखा (एलओसी) मा आतङ्कवादीहरूको घुसपैठको प्रयासलाई भारतीय सेनाले विफल पारेको थियो । आइतबार रातिदेखि सोमबार बिहानसम्म पुन्च नदी नजिकै एलओसीमा भएको दोहोरो झडपमा दुई जना आतङ्ककारी मारिएका थिए ।
सुरक्षाकर्मीले आतङ्वादीबाट एके ७४ राइफलसहित भारी मात्रामा हतियार र गोला बारुद नियन्त्रणमा लिएका थिए ।
–रासस