काठमाडौं । भन्सार विभागले करिब एक सय किलो सुन अवैध रुपमा विमानस्थलबाट बाहिरिएको प्रकरणबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।
भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको हो ।
भन्सार जाँच पास गरी तस्करीको सुन कसरी बाहिर गयो भन्ने सन्दर्भमा छानबिन गर्ने जिम्मेवारी समितिलाई तोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।
‘कहाँ भन्सारका कर्मचारीको कमजोरी रह्यो भन्ने विषयमा जाँच गर्न समिति गठन भएको हो । समितिलाई पाँच दिनभित्र जाँच गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।’, सूचना अधिकारी खड्काले भने ।
विशेष सूचनाको आधारमा बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।