दाङ । दाङमा एक वृद्धामाथि बसभित्रै सामूहिक बलात्कारको घटना भएको छ । प्रहरीले बलात्कारको आरोपमा दुई जनालाई नियन्त्रण लिई अनुसन्धान थालेको छ ।
बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङमा राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले वृद्धामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।