कञ्चनपुर । जिल्लाको लालझाडी गाउँपालिका–१ नौरंगाबाट भन्सार छली भित्र्याइएको अवैध मालसामानसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणमातहतको बीओपी दोदाबाट खटिएको टोलीले शुक्रबार राति १६ लाख रुपैयाँभन्दा बढीको मालसामान बरामद गरेको हो ।
गाडीचालक कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र बोहोरा र सहचालक लालझाडी–१ का १९ वर्षीय बिशाल बडायकलाई पक्राउ गरिएकाे हाे ।
उनीहरूले सामान ल्याउन प्रयोग गरेको पिकअप भ्यान समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।