काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवद्र्धन गर्न सकारात्मक रहेको बताएका छन् ।
शुक्रवार नेपाल रत्न तथा आभूषण संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हक हीत संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको बताए ।
उनले भने, ‘रत्न तथा आभूषण व्यवसायमा संलग्न भइ देशभर छरिएर रहेका व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको यस संघले व्यवसायीको हक हीत संरक्षण कामका अलावा मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिष्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको छ । नेपाल सरकारले पनि यस व्यवसयाको प्रवद्र्धनका लागि सदैव सकारात्मक भुमिका खेल्ने विश्वास दिलाउन चाहन्छु ।’
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायलाई परिष्कृत र पुरस्कृत गर्न जरुरी रहेको बताए । उनले सुनचाँदी व्यवसयालाई व्यवस्थित गर्नेकुरामा सरकारले ध्यान दिन आवश्यक रहेको बताए । सुनचाँदीमा लगाइएको २ प्रतिशत थप सेवाशुल्क हटाउनै पर्ने बताए । सुनचाँदी जस्तो अति आवश्यक व्यवसायमा अतिरिक्त कर नलगाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बजारको माग घटाइएको बताए । उनले बजारमा सुकेको व्यापार र घटेको बजार रहेको बताए ।
उनले आयात बढेको, निर्यात घटेकाले व्यापार घाटा चुलिएर गइरहेको बताए । उनले सरकारी खर्च झनै बढ्दै जाँदा राजश्व पनि क्रमशः घटिरहेको बताए । उनले बैंकिङ क्षेत्रमा रकम थुप्रिएको भएपनि लगानीको अवस्था नरहेको जिकिर गरे । प्रताडित रहेको निजी क्षेत्रलाई कसले सम्हाल्ने भन्ने चिन्ता हुँदै आएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महाउसंघको एशोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले नेपालको बढ्दो घाटा कम गर्न सुनचाँदी व्यवसायको प्रवद्र्धन गर्नुपर्ने बताइन् ।
उनले नेपाली गरगहनाको अन्तर्राष्ट्रिय बजारमा माग बढीरहेपनि माग सम्बोधन गर्न नसकेको बताइन् । उनले विदेशको मागलाई पूर्ति गर्न सरकारको नीतिगत सहयोग आवश्यक रहेको बताइन् ।
नेपाल रत्न तथा आभूषण संघकी निःवर्तमान अध्यक्षसमेत रहेकी श्रेष्ठले विदेश जाने नेपालीले लगाएको गहना स्वदेशमा नै राखेर गएमा फर्कंदा भन्सारको झन्झटिलो नहुने व्यवस्थाका लागि संघले गरेको पहल सकारात्मक भइरहेको बताइन् ।