काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साउन र भदौमा कार्यकर्ता प्रशिक्षणलाई तीव्रता दिने भएको छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तिन प्रदेशमा भदौमा गरिने सो पार्टीले जनाएको छ ।
यसअघि रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण गरिसकेको छ । गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने बताइएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि तोकिएको छ ।
शुक्रबार र शनिबार (साउन १२ र १३) हेटौडामा गर्ने भनिएको प्रशिक्षणको मिति रोकिएको छ । रास्वापाका प्रशिक्षण विभागका सचिव कमल सुवेदीले बागमती सहित मधेस र कर्णालीको प्रशिक्षण भदौमा गरिने गरि पुनः मिति तय गरिने जानकारी दिए ।
पहिले निर्धारित समय अनुसार भदौ १ र २ मधेस र भदौ ८ र ९ कर्णालीको प्रशिक्षण गर्ने तय गरिएको थियो । तीन प्रदेशको प्रशिक्षण भदौमा गर्ने गरि अर्को मिति सार्वजनिक गरिने उनले जानकारी दिए ।
प्रशिक्षणमा सहभागी हुनेहरुमा प्रदेश कमिटीका सदस्य, निर्वाचन क्षेत्र समिति, पालिकाका पार्टी अध्यक्ष, सम्बन्धित क्षेत्रको सांसद, केन्द्रीय सदस्य लगायत सहभागी हने जनाइएको छ ।
प्रशिक्षण विभागले आयोजना गर्ने उक्त कार्यक्रमा सभापति रवि लामिछानेलगायतका शीर्ष नेताले प्रशिक्षण दिनेछन् ।