माघ २० काठमाडौं नको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ ।
एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको जानकारी दिए ।
हिमालयले चार्टड उडान गरिरहेका तीन गन्तब्यको उडान स्थगन गरे पनि नियमित उडान भइरहेको बेइजिङ र छोङछिङमा भने यात्रुको अवस्थालाई मध्यनजर गरेर उडान भर्ने जनाएको छ । यो गन्तव्यको उडान आगामी ६ फेब्रुअरी २०२० देखि स्थगन गर्ने योजना बनाएको कम्पनीले बजारको अवस्था अनुरुप सेवा दिनेछ ।
कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बेइजिङ र छोङछिङको ‘सेडुअल’ उडान रिरन्तर रहने तर कम्पनी आफैँले बजारको अध्ययन गरी आवश्यकताको आधारमा उडान सञ्चालन गर्ने बताए ।
हिमालयले चीनका विभिन्न शहरसँगै हाल बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, यूएईको अबुदाबी, दुबई, साउदी अरेबियाको दमाम र कतारको दोहामा सिधा उडान गरिरहेको छ । कोरोना भाइरस पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो ।