माघ २१ काठमाडौं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसीसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् । उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको छ भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्ट्रसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताए ।
प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने छ भन्दै एमसीसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस सुरु गरेको ज्ञवालीले टिप्पणी गरे ।
उनले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसीसीका बारेमा अहिले बजारमा चलिरहेको बताए ।
पार्टीहरु लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै उनले पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने बताए । दुई वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएको छ भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएकोसमेत जिकिर गरे ।
जनताको वर्षौंदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गरे । नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको छ भन्दै उनले उक्त जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको बताए ।