logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • कैलालीकी मञ्जु रावल हत्यामा संलग्न ४ जना पक्राउ

    कैलालीकी मञ्जु रावल हत्यामा संलग्न ४ जना पक्राउ

    1.7K
    Shares
    कैलालीकी मञ्जु रावल हत्यामा संलग्न ४ जना पक्राउ

    कैलाली । कैलाली लम्कीचुहा नगरपालिका–४ की ३३ वर्षीया मञ्जु रावलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले निजकी सौतासहित चार जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीप चन्दले रावलको हत्यामा संलग्न भएको आरोपमा सरिता रावल, मृतककी सौता गोमा रावल, सौताका छोरा भरत रावल, छोरी वर्षा रावललाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार गोमा रावललाई दीपायल र बाँकी तीनलाई धनगढीबाट पक्राउ गरिएको हो ।

    गत जेठ २५ गतेदेखि बेपत्ता भएको मञ्जु रावललाई मोहन्याल गाउँपालिकाको बाँसबारी सामुदायिक वनको खोल्सामा आइतबार मृत फेला पारिएको थियो । मृतक रावलको हड्डी र कङ्काल भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमानको निधनपछि दुई सौताबीच अंशबण्डाका विषयमा विवाद सुरु भएको थियो ।

    विवादित जग्गा मृतक मञ्जुका नाममा थियो । मृतकका भाई सुरेन्द्र कार्कीले दिदी मञ्जुलाई बेपत्ता परेको भन्दै गोमा रावल, भरत रावल र अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–६ का सरिता रावल समेतको नाममा किटानी जाहेरी दिएका थिए । साथै मृतकका छोरा विवेक रावलले यही असार १ गते आमा मञ्जुको खोजतलास गरी पाउँ भनी इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए ।

    मृतक मञ्जुको श्रीमान् जनक रावलसँग २०७६ असारमा सम्बन्धविच्छेद भएको थियो भने अर्को वर्षको चैतमा जनक रावलको निधन भएको थियो । श्रीमान्को मृत्युपछि दुवै सौताले वडा कार्यालयमा मृत्यु दर्ता गराएका थिए ।

    सम्बन्धविच्छेदपछि मृतक मञ्जुले मृत्यु दर्ता प्रमाण पत्रको श्रीमतीको महलमा झुठा विवरण राखेर आफ्नो नाम राखेपछि निजको सौता गोमाले मञ्जुको नाम हटाई पाउँ भनी निवेदन दिएकी थिइन् । झुठो विवरण पेस गरी मृत्यु दर्ता गरिएको कसुरमा मञ्जुमाथि मुद्दा चलेको थियो ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend