काठमाडौं । सुदूरपश्चिम प्रदेशका ७ पहाडी र २ तराईका जिल्ला जोड्ने प्रमुख सडक भीमदत्त राजमार्गमा आज (बिहीबार) ६ घण्टा यातायात सञ्चालनमा रोक लगाइने भएको छ ।
कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा सडक मर्मतका लागि राजमार्ग ६ घण्टा बन्द हुने भएको छ । मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्णरुपमा बन्द गरिने सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।
बुढीतोला क्षेत्रमा साउन २२ गते पहिरो जाँदाखेरी ५०० मिटर सडक भास्सिएको थियो। सडक भास्सिएको ठाउँमा बैकल्पिक मार्ग निर्माण गरी करिब १ सातापछि यातायात सञ्चालनमा ल्याइएको थियो।
तर वैकल्पिक मार्गमा पनि लेदो र माटो बग्ने क्रम नरोकिएपछि पुनःमर्मत गर्न लागिएको हो। सडक डिभिजन कार्यालयका अनुसार लेदो तथा माटो बगिरहेको ठाउँमा जाली राखेर मर्मत गरिने र लगातार बगिरहेको पानीलाई पाइपलाइन तथा नाली बनाएर निकास गरिने छ ।