काठमाडौँ । ‘अचानक बिरामी’ भएको बताउँदै उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । सभा बैठकबारे निर्णय गर्न आज (सोमबार) बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतका लागि प्रदेश सभाको बैठक १ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक पुनः बसेर सहमतिका लागि प्रयास गरिने नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।
यता, संसद् बैठक स्थगित हुन सक्ने नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्र आङ्बोले बताए । विश्वासको मत लिन नदिन नेकपा एमालेले उपसभामुख दनुवारलाई उपस्थित नगराउने आशङ्काकै बीच उपसभामुख बिरामी परेको बताउँदै उपचारका लागि काठमाडौँ लागेकी छन् । बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ हिँडेकी छन् ।
दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७५) को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली कांग्रेसका इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी तोकेकी छिन् ।