धनगढी । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत केन्द्रीय प्रहरी समाचार कक्षले ‘दैनिक समाचार बुलेटिन’ सञ्चारमाध्यममा पठाउने गर्छ ।
शुक्रबार दिउँसो ३ बजे प्रेषित प्रहरी प्रधान कार्यालयको बुलेटिनमा जिउँदै बालिकालाई मृत फेला भनेर प्रेषित गरेको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रेषित गरेको बुलेटिनको अन्तिम समाचारमा लेखिएको छ, ‘कञ्चनपुर, बेलौरी नगरपालिका–७ सिंहपुरस्थित गन्नाबारीमा हाल नाम, थर, वतन नखुलेकी करीब १ वर्षीया बालिका शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।’
तर सिंहपुरमा बालिका जिउँदै फेला परेकी थिइन् । ईलाका प्रहरी कार्यालय बेलौरीका इन्सपेक्टर गौरीप्रसाद जैशीले बालिका जिउँदै फालिएको अवस्थामा फेला परेको जानकारी दिए । प्रहरीको बुलेटिनकै आधारमा समाचार बनाएर प्रकाशित गर्ने सञ्चारमाध्यमले धोका खाएका छन् ।
बेवारिसे अवस्थामा फेला परेकी बालिकाका अभिभावक खोज्ने क्रममा कञ्चनपुरको पुनर्वास–२ निवासी बालिकाकी हजुरआमा रामपती चौधरी सम्पर्कमा आएकी उनले बताए ।
प्रहरीले बालिकालाई हजुरआमाको जिम्मा लगाउने तयारी गरेको छ । बालिकाकी आमा भने केही दिनदेखि सम्पर्कविहीन छिन् ।