काठमाडौँ । बैकिङ कसूर मुद्दामा कैद सजाय तोकिई फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बागलुङ बरेङ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बसन्तपुर बस्ने ५४ वर्षीय भिमनाथ उपाध्याय, ललितपुर गोदावरी नगरपालिका–१३ बस्ने ४२ वर्षीय अन्जनराज खड्का, सिन्धुपाल्चोक साविकको भोटेकोशी गाविस–५ घर भई हाल काठमाडौँ–२७ महाबौद्ध बस्ने ४२ वर्षीय लाक्पा तामाङ लामा तथा काठमाडौँ महानगरपालिका–९ गौशाला बस्ने ३० वर्षीय मेनुका पहाडी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले दिए ।
उनका अनुसार भगवतप्रसाद पोखरेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भिमनाथ उपाध्याय भएको बैकिङ कसुर मुद्दामा प्रतिवादी भिमनाथ उपाध्यायलाई तीन दिन कैद, बिगो रु सात लाख ७७ हजार ८९० जाहेरवालालाई भराई बिगो बमोजिम जरीवाना र क्षतिपुर्ति बापत पीडित राहतकोषमा रु ३१ हजार ११५.६ जम्मा गराउने ठहर भएकोमा प्रतिवादीलाई ठहर भएको कैद भन्दा नौँ दिन बढी थुनामा बसेको हुँदा निजलाई लागेको जरीवानाबाट प्रतिदिन रु तीन सयका दरले हुने रकम जम्मा रु दुई हजार ७०० र निजले धरौटी राखेको रु एक लाख १५ हजार रकम कट्टा गरी बाँकी हुन आउने जरिवाना रु ६ लाख ६० हजार १९० प्रतिवादीबाट असुल उपर गर्नु भनि गएको वैशाख २५ गते उच्च अदातल पाटन, ललितपुरबाट फैसला भई फरार रहेका थिए ।
रामकला खरेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अन्जनराज खड्का भएको बैकिङ मुद्दामा उच्च अदातल पाटनबाट गएको वैशाख २५ गतेको फैसलाले प्रतिवादी अन्जनराज खड्कालाई दुई दिन कैद तथा बिगो रु पाँच लाख जाहेरवालालाई भराई बिगो बमोजिमको जरीवाना र क्षतिपुर्ति बापत पीडित राहतकोषमा रु वीस हजार जम्मा गराउने आदेश भई फरार रहेका थिए ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले जम्मा रु आठ लाख ५१ हजार २०० जरीवाना, जम्मा रु ३६ हजार क्षतिपूर्ति शुल्क जम्मा गराई एक दिन कैद हुने ठहर भई फरार रहेकी प्रतिवादी लाक्पा तामाङ लामालाई पक्राउ गरी ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको ।
यसैगरी शशिप्रसाद प्रजापती समेतको छुट्टाछुट्टै जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मेनुका पहाडी भएको बैकिङ कसुरमा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले जम्मा रु चार लाख पाँच हजार जरीवाना, एक दिन कैद र अनिता नायकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मेनुका पहाडी भएको ठगी मुद्दामा काठमाडाँै जिल्ला अदालतको फैसलाले छ महिना कैद, रु ६ हजार जरीवाना हुने ठहर भई फरार रहेकी प्रतिवादी मेनुका पहाडी समेतलाई पक्राउ गरी निजलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाइएको प्रवक्ता रेग्मीले बताए ।