काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पपछि नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्स (ट्विटर) मा मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । साथै घाइतेहरुको स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
उहाँले भारत सरकार यो विपद्को घडीमा नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण अहिलेसम्म एक सय २९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, जाजरकोट र रुकुमपश्चिममा गरी एक सय ४० जना घाइते भएका छन् ।