काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताउनुभएको छ ।
टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा आज मंगलवार बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिला तपाईहरुलाई बधाई छ । तपाईँहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला । कतिपय बेला जित र हार संयोगको कुरा पनि हुन्छ । विश्वकपमा पनि तपाईहरुले राम्रो गर्नुहोला ।’
‘क्रिकेट मैले हेर्दै आएको छु । क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ । यो टिम नेपालको बेस्ट टिम भएको महसुस गरेको छु । क्रिकेटप्रति नेपालीको क्रेज देखिएको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ । खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्त्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो।’
प्रधानमन्त्रीले भरतपुर, मूलपानी र त्रिवि क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउने बताउनुभयो ।
उहाँले खेलाडीलाई घोषणा गरेको पुरस्कार वितरणमा ढिलो हुँदा अफूलाई नमिठो लागेको उल्लेख गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरु छन् । त्यसले पनि ढिलो हुन गयो । आउँदा दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ । टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ ।’
कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्त्वबाट आफूहरु उत्साहित भएको बताए ।
उनले भने, ‘यो महत्त्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुशी छौँ ।
कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ । सरकारको पहलप्रति आभारी छौँ । बाँकी रहेका कामहरू पनि छिट्टै पूरा हुने विश्वास लिएका छौँ ।’