logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छ : प्रधानमन्त्री

    जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छ : प्रधानमन्त्री

    1.2K
    Shares
    जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताउनुभएको छ । बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताउनुभएको छ ।

    उहाँले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने बताउनु भयो । उहाँले हजारौँ मान्छेहरुले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने बताउनु भयो । उहाँले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको बताउनु भयो । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भूमिका खेलेको भन्दै उहाँले उहाँको यो भूमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘मैले यो पटक प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएँ । मानिसहरुलाई त के ग¥यो प्रचण्डले भन्ने पनि लाग्छ । तर नेपालको इतिहासमा त्यो ऐतिहासिक परिघटना थियो । जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा कोशेढुंगाको भूमिका खेल्यो । हामी ऐतिहासिक भौतिकवादी हुनुका नाताले भौतिक ढंगले त्यसलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ठानेर मैले गरेँ । अरुले सकेका थिएनन् । शान्ति सम्झौतापछि धेरै भए प्रधानमन्त्री । कुरा त गर्थे तर कसैले आँट गरेका थिएनन् । मैले आँट गरे । यो आँट गरेकोमा सबैले ठिकै माने कसैले विरोध गरेनन् ।’

    उहाँले अगाडि भन्नुभयो, ‘तर मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहिँ अहिले निकै ठूलो टीकाटिप्पणी हुने गरेको छ । मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एकखालको कर्म पछिको ठूलो कर्म नेपाली जनताले अगाडि ल्याएको त्यही नै हो । त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरी उठ्छ । किनभने हजारौँ मान्छेहरुले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एक्छिन दबाइयो भने पनि फेरि उठ्छ ।’

    प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठूलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको उल्लेख गर्नुभयो । उहाँले जनयुद्धको आधिकारिक र प्रामाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको आधिकारिक र प्रामाणिक व्याख्या हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले जनयुद्धलाई विद्रुपीकरण गरेर निरंकुशतालाई अगाडि ल्याउने जमर्को भइरहेको बताउनु भयो ।

    प्रधानमन्त्री दाहालले पूर्वउपराष्ट्रपति पुनले पुस्तकमा कतिपय घटनाक्रमहरु सिधा सिधा लेखेको भन्दै त्यसको गलत व्याख्या हुन सक्ने बताउनु भयो । उहाँले पुस्तकमा लेखिएको कतिपय घटनाक्रमहरुको गलत व्याख्या भएमा लेखकको इमान्दारित माथि अन्याय हुने बताउनु भयो । उहाँले पुस्तकमा लेखिएको कुरालाई लेखकको पारदर्शिता, इमान्दारिता र निष्ठाको रुपमा बुझ्नुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो – ‘उहाँले किताबमा नलेख्नुपर्ने कुरा पनि अलिअलि लेख्दिइहाल्नुभयो । कतिपय घटनाक्रम जसरी उहाँले भन्नुभएको छ, त्यही भाषामा नभनेर अलिकति घुमाएर भनेको भए हुन्थ्यो जस्तो मलाई पनि लागेको छ । तर उहाँको बानी, व्यहोरा अनुसार उहाँले लेख्नु भएको हो । उहाँको स्वभाव अनुसार लेख्नुभएको छ जस्ताको तस्तै । तर यसलाई कसैले प्ले गर्छु भन्ने सोच्यो भने प्ले गर्न सक्ने पनि हुनसक्छ ।’

    कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरुको बारेमा उल्लेख गरिएको बताउनु भयो । उहाँले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै त्यस समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको बताउनु भयो । त्यस्तै नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भूमिकाका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको उहाँले भन्नुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend