एजेन्सी । इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।
चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ । कतारका अनुसार हमासले बन्धक बनाएकामध्ये १३ जना आजै रिहाइ हुनेछन् । रिहाइ हुनेको नाम भने सार्वजनिक गरिएको छैन ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताउनुभएको बीबीसीले जनाएको छ । यसअघि बिहीवारदेखि संघर्षविराम हुने र केही बन्धकहरुको अनि केही प्यालेस्टीनी बन्दीहरुको रिहाइ हुने भनिए पनि त्यसमा ढिलाइ भएको थियो ।