काठमाडौँ । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक भोलि सोमबार बिहान आठ बजे बस्ने भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न भोलि बिहान बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बर्तौलाले भने, ‘काठमाडौँमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरुलाई सचिवालय मार्फत खबर गरिएको छ,उपत्यका बाहिरका पनि अनुकुल हुने उपस्थित हुनुहुनेछ ।’
पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तहप्रति देखिएको जनताको वितृष्णा र आक्रोश, मुलुकको अवस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्ने जनाइएको छ । गृहजिल्ला हेटौँडामा रहेका अध्यक्ष कमल थापा बैठकका निमित्त भनी काठमाडौँ आइपुगिसकेका छन् ।
अध्यक्ष थापाले पार्टीले अवलम्बन गर्ने नीति ,सिद्धान्त ,एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए । दुर्गा प्रसाईको आन्दोलनमा प्रहरी दमनको थापाले विरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक लिन सत्तासीन दलहरुलाई आग्रह गरेका थिए ।
केही दल र नेताहरुले राजाको विरोध गरेकोमा थापाले असन्तुष्टि व्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरुको बरबराहट भन्ने टिप्पणी गरेका थिए ।