logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सम्पन्न

    आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सम्पन्न

    3K
    Shares
    आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सम्पन्न
    काठमाडौँ । नेपाल पुलिस स्कुल साँगामा सञ्चालित २९औँ अन्तर माध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
    प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टोलीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरुको प्रतिभालाई उजार गर्नुका साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
    उहाँले विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यावहारिक बनाउन सकेमा उपलब्धिमूलक परिणाम दिन सक्ने भएकाले विद्यार्थीको वौद्धिक एवं व्यक्तित्व विकासमा सहयोग पुग्ने शैक्षिक वातावरण निर्माणतर्फ विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्ने बताउनुभयो ।
    विद्यार्थीको शैक्षिक गुणस्तरलाई उच्च राख्दै अभिभावकको चाहना र राष्ट्रको आवश्यक पूरा गर्न दत्तचित भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले प्रतियोगिताका रनरअप टोलीलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।
    साथै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सेकेण्ड रनरअप टोलीलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । आज भएको फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइबेकरमा  ३–० गोल अन्तरले पराजित गरेको छ ।
    निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुर प्रथम, ल्याबोरेटोरी स्कुल कीर्तिपुर द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टोलीले रु ५० हजार, द्वितीय हुने टोलीले रु ४० हजार र तृतीय हुनेले रु ३० हजार पुरस्कार प्राप्त गरेका छन् ।
    प्रहरी नायब महानिरीक्षक केदार ढकालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीद्वारा नृत्य तथा नेपाल प्रहरी संगित विद्यालयद्वारा ब्यान्ड ‘डिस्प्ले’ गरिएको थियो ।
    गत मङ्सिर २० गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टोली, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालयलगायत काठमाडौँ, भक्तपुर, ललितपुर तथा काभ्रेका गरी जम्मा १६ विद्यालयका १७  टोलीको सहभागिता रहेको थियो ।
    प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, प्रहरी अधिकृत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थी, अभिभावक, स्थानीय बासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend