काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समय अनुसार बेलुका पौने ८ बजे आर्सनल र फुलहम तथा टोटनहम र बर्नमाउथबीच प्रतिस्पर्धा हुनेछ ।
आर्सनल १९ खेलमा ४० अंकसहित तालिकाको चौथो स्थानमा छ । आजको खेलमा फुलहमलाई हराउन सकेमा शीर्ष स्थानमा पुग्नेछ । उसको २० खेलमा ४३ अंक पुग्नेछ । अहिले शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक छ । दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको २० खेलमा ४२ अंक छ ।
गएरातिको खेलमा एस्टनभिल्लाले बर्नलीलाई ३–२ गोलले हराउँदै शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको हो । गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड नटिङ्घम फरेस्टसँग २–१ गोलले पराजित भयो । अरु खेलमा चेल्सीले लुटनटाउनलाई र क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई हरायो ।