काठमाडौँ । कोशी प्रदेश बुधवार एपिएफसँग पराजित भएपछि लगातार तेस्रो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न असफल भएको छ ।
कोशीले बुधवार सम्पन्न फाइनलमा एपिएफसँग ११ रनको हार व्यहोरेपछि लगातार तेस्रो पटक उपाधि भिडन्तमा असफलता सामना गर्नुपरेको हो । कप्तान रुविना क्षेत्रीको अर्धशतक र अप्सरी बेगमको ह्याट्रिक लिएपनि कोशीको हार टरेन । २०७७ सालमा पहिलोपटक यो प्रतियोगिताको उपाधि उचालेको कोसीले त्यस पछिका तीन वटा फाइनल खेले पनि उपाधिविहीन बन्नुपर्यो ।
यता, एपिएफले भने हालसम्म ८ वटा फाइनल खेल्दा ६ पटक उपाधिमा आफ्नो नाम लेखायो । राष्ट्रिय टोलीका र अनुभवी खेलाडीले भरिएको एपिएफ बुधवार पनि कोशी प्रदेशमाथि जित निकाल्दै एक मात्र अपराजित टोलीका रुपमा उपाधि उचाल्न सफल भयो । उपाधिसँगै एपिएफले पाँच लाख रुपैयाँ पाउँदा उपविजेता कोसीले तीन लाख रुपैयाँमा चित्त बुझायो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एपिएफले दिएको एक सय १५ रनको लक्ष्य कोशीले धैर्यतापूर्वक ब्याटिङ गरे पनि जित निकाल्न सकेन ।
कोशीले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि चार विकेटको क्षतिमा एक सय ३ रन मात्र बनाउन सक्यो । कोसीकी कप्तान रुविना क्षेत्रीले ६२ रनको अर्धशतकीय योगदान दिएपनि जित दिलाउन भने सकिनन् । उनले ५८ बलमा सात चौका र एक छक्का हिर्काइन् । काजल श्रेष्ठले २९ बल खेल्दा एक मात्र चौकासहित २२ रन बनाइन् । रुविना र काजलले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे ।
आशा गरिएका ब्याटर तथा ओपनर अप्सरी बेगम र लकिता राजवंशी लामो समयमा क्रिज रहे पनि रन जोड्न असफल हुँदा एपिएफका लागि जित सहज बन्यो । अप्सरी २० बल खेल्दा ८ रनमा रनआउट भइन् भने लकिताले १० बलमा ६ रन मात्र जोडिन् । एपिएफका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले समान एक विकेट लिए । एपिएफले कोशीको थप दुई विकेट रनआउटका रूपमा पाएको हो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन जोडेको थियो । एपिएफकी इन्दु बर्माले सर्वाधिक ५३ रनको योगदान गरिन् । ४७ बलमा ६ चौका र एक छक्का प्रहार गरिन् । उनी म्यान अफ दी म्याचसमेत भइन् । ओपनर ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेन । यद्यपि, बलिङमा साथ पाएपछि एपिएफले मध्यम लक्ष्य पनि रक्षा ग¥यो । कोसीको बलिङमा अप्सरीले चार ओभरमा रन २१ खर्चिदै तीन विकेट लिइन् ।
उनले डेथ ओभरको पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थपा र तेस्रो बलमा सोनु खड्कालाई आउट गर्दै ह्याट्रिक पूरा गरिन् । एलिशा खडियाले दुई तथा रुविना क्षेत्री र निशा शाहले समान एक विकेट लिए । कोशीकी मध्यम गतिकी बलर सबनम राईले तीन ओभरमा १४ रन मात्र दिएपनि विकेटविहीन भइन् । प्रतियोगितामा कोशीकी कप्तान रुविना क्षेत्री प्लेयर अफ दी सिरिज घोषित भइन् । त्यसबापत उनले स्कुटर प्राप्त गरिन् । उदीयमान खेलाडी गण्डकीकी जोत्स्निका मरासिनी, उत्कृष्ट बलर मधेसकी पूजा महतो र उत्कृष्ट ब्याटर गण्डकीकै सुमन खतिवडा घोषित भए ।
उत्कृष्ट बलर र ब्याटरले समान ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । उदीयमान खेलाडीले भने क्रिकेट सामग्री पाइन् । पहिलोपटक राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा एक विभाग र सात प्रदेशका टोलीले प्रतिष्पर्धा गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्वसदस्य ज्योति पाण्डेले प्रतियोगिता समापनसँगै सन्यास घोषणा गरेकी छन् ।
राष्ट्रिय टोलीबाट खेलेर सन्यास घोषणा गर्ने योजना भएपनि सम्भव नभएपछि पछिल्लो १२ वर्षदेखि खेल्दै आएको एपिएफ क्लवले उपाधि जितेपछि क्रिकेटबाट बिदा लिएकी छिन् । यो खेल आफ्नो क्रिकेट करियरकै अन्तिम भएकाले आजको खेल शुरु हुनुभन्दा अगाडिदेखि केही कठिन रहेको बताइन् ।
आफ्नै बुबा क्रिकेट प्रशिक्षक भएकाले पनि क्रिकेट खेल्न शुरु गरेको उल्लेख गर्दै ज्योतिले विश्वकप खेल्न नपाउनु अपुरो सपना रहेको बताएकी छिन् । करिव १५ वर्ष क्रिकेटमा बिताएकाले क्रिकेट छोड्न कठिन भएको उनले उल्लेख गरिन् ।