logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • करेसाबारीको तरकारी दिवा खाजामा

    करेसाबारीको तरकारी दिवा खाजामा

    1.6K
    Shares
    करेसाबारीको तरकारी दिवा खाजामा

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ ।

    विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जंकफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेको जानकारी दिनुभयो ।

    “स्थानीयस्तरमा पर्याप्त मात्रामा तरकारी नपाइने हुँदा विद्यालयमै उत्पादन गरेर दिवा खाजामा प्रयोग गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्यालय परिसरको खाली जग्गामा तीन ठाउँमा मौसमी, बेमौसमी तरकारी लगाएका छाँै । दिवा खाजाका लागि ताजा तरकारी किन्नुपरेको छैन ।” बिदा र छुट्टीको समयमा शिक्षकले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाँजर, मटरकोसा, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् ।

    करेसाबारी निर्माण र व्यवस्थापन गर्न विद्यालयले शिक्षक अर्जुन खत्री, सुनिता गौतम र लक्ष्मी शर्मालाई जिम्मेवारी तोकेको छ । शिक्षक खत्रीले विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा पर्याप्त र स्वस्थकर खाजा खान पाउनुका साथै तरकारी खेतीका बारेमा ज्ञान हासिल गरेका बताउनुभयो । शिक्षक गौतमले तरकारीमा प्रयोग नहुने बन्दा, मुला र काउलीको पातलाई प्रशोधन गरेर विद्यार्थीले गुन्द्रक बनाएका बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई दुना टपरी बनाउने सीप पनि सिकाइएको छ । स्थानीय पाठ्यक्रमको पठनपाठन गराउने क्रममा विद्यार्थीलाई स्थलगतरूपमा खेतबारी, गोठ र फार्ममा लैजाने गरिएको छ ।

    कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी रु १५ अनुदान दिने गरेको छ । विद्यालयका सहयोगीले नै दिवा खाजाका परिकार तयार पार्ने गर्दछन् । अर्का शिक्षक तीर्थबहादुर बानियाँले विद्यालय परिसरको खाली जग्गामा तरकारी खेती विस्तार गर्न लागिएको बताउनुभयो । खाली र बाँझो जग्गाको सदुपयोग भएको छ । विद्यालय परिसरमा सौन्दर्यकरण गर्ने उद्देश्यले फूलको बगैँचा पनि स्थापना भएको छ । विद्यालय हराभरा बनेको छ ।

    रमणीय वातावरणमा व्यावहारिक, जीवनोपयोगी र व्यावसायिक शिक्षा हासिल गर्न पाउँदा विद्यार्थीको सिकाइ उपलब्धि पनि बढ्न थालेको छ । फुर्सदको समयमा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीका लागि उपचारत्मक कक्षा सञ्चालन गरेको छ । आठजना दरबन्दी, एकजना निजी स्रोतका शिक्षक, एकजना बालविकास र एकजना कर्मचारी छन् ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend