काठमाडौँ – बैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका नेपालीहरूलाई प्रोत्साहन गर्नका लागि नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ ।
बैंकले बिहिवार काठमाडौंका एक बिशेष कार्यक्रम गर्दै सो उद्यमशील कर्जा योजनाको शुभारम्भ गरेको हो । अब विदेशबाट फर्केका नेपालीले नेपालमै केहि गर्न चाहेमा बैंकले सो कार्यक्रम मार्फत १० करोड रूपैयाँसम्मको कर्जा सुविधा सहज तरिकाले प्रवाह गर्ने छ ।
बैंकले अब देशमै केही गर्न चाहनेका नेपालीका लागी बिभिन्न क्षेत्रहरु तोकेर न्युनतम १५ लाख रूपैयाँदेखि १० करोड रूपैयाँसम्मका उद्यमशील कर्जा सुविधा प्रदान गर्ने जनाएको छ ।
जस्तै कृषि, हस्तकला तथा साना उद्यम गर्नेका लागी १५ लाख रूपैयाँको कर्जा र त्यसमा लगानी थप गरी उद्योग बिस्तार गर्न चाहनेका लागी नबिल बैंकले १५ लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्मको कर्जा दिने योजना ल्याएको हो ।प्रवासी उद्यमशील कर्जा योजनाको शुभारम्भ गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका नेपालीलाई त्यहाँ बस्दा सिकेको सीप मार्फत नेपालमा दिगो रूपमा रोजगारी तथा उद्यम गर्नसक्ने वातावरण निर्माण गर्न नविल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको बताउदै त्यसबाट बैंकले धेरै नाफा कमाउने उद्देश्य समेत नराखेको दाबी समेत गर्नुभयो।
त्यस्तै बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई १५ देखि १० करोडसम्मको सहुलियतपूर्ण कर्जा दिने योजना ल्याएको भन्दै उहाँले विदेशमा गएका नेपाली श्रमिकहरुले नविल बैंकको कर्जा योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्सान गर्ने दाबी गर्नुभयो । उहाँले औपचारिक रुपमा रेमिट्यान्स आउँदा आर्थिक रूपमा देशको अर्थतन्त्रमा टेवा पुग्नेगरी योजना ल्याएको बताउनु भयो ।
त्यसै गरी नबिल बैंकले ल्याएको योजनाले सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रूपैयाँसम्म सुविधा बैंकले दिने भएको छ ।
उक्त कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ । सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठूलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रूपैयाँसम्म कर्जा दिनेछ । कर्जाका लागि नागरिकतासहित कोल्याट्रलको आवश्यक पर्नेछ । बैंकले कर्जामा १।५ प्रतिशत ब्याजदर कायम गरेको छ । कर्जा प्राप्तका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ ।