logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

    विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

    1.8K
    Shares
    विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

    गत असार मसान्तसम्ममा  १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ  पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ ।

    कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा  १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा पुस मसान्तमा १८ दशमलव नौ प्रतिशतले वृद्धि भई  १६ खर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

    राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा  एक खर्ब ९३ अर्ब ५९ करोड रहेकामा पुस मसान्तसम्म पुग्दा ११ दशमलव आठ प्रतिशतले वृद्धि भई  दुई खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ ।

    गत पुस मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव पाँच महिनाको वस्तु आयात र १२ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    यो अवधिसम्ममा रहेको विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३३ दशमलव आठ, सय दशमलव ९ र २७ दशमलव ७ प्रतिशत छन् । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा चालु खाता रु एक खर्ब ६१ अर्ब ६२ करोडले बचतमा छ ।

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३५ अर्ब ५७ करोडले घाटामा थियो । यो अवधिमा पुँजीगत ट्रान्सफरमा भने ३० प्रतिशतले कमी आई तीन अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ५३ करोड रुपैयाँ धनात्मक रहेको छ ।

    यस्तै मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ। आयात ३.१ प्रतिशत र निर्यात ७.२ प्रतिशत बढेको छ। कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशत र अमेरिकी डलरमा २२.६ प्रतिशत बढेको छ।

    विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.६ प्रतिशत बढेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशत बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धि १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धि ४.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend