काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिमियम र बुकबिल्डिङ विधिबाट प्राथमिक सेयर (आइपिओ) निष्कास गर्न बाटो खुला गरेपछि वास्तविक क्षेत्र (उत्पादनमूलक) पनि सेयर बजारमा आउन थालेका छन्।
पछिल्लो समय मारुती सिमेन्ट्स लिमिटेडले पनि अंकित मूल्य प्रतिकित्ता १०० मा १७७ थपेर प्रिमिय थपेर कूल २ सय ७७ रुपैयाँका दरले आइपिओ निष्कासन गर्न लागेको छ। प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न मारुती नेपाल धितोपत्र बोर्डमा पुगेको छ।
उद्योगले प्रतिकित्ता २ सय ७७ रुपैयाँका दरले उद्योग प्रभावित स्थानीयबासिन्दा तथा सर्वसाधारणलाई ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्न लागेको जानकारी दिएको छ। मारुतीले १ करोड १६ लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ।
उद्योगको गत कात्तिक २१ सम्पन्न वार्षिक साधारणसभाले प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो। उद्योगको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड छ।
मारुती सिमेन्टमा व्यवसायिक घरना राठी तथा गोयल ग्रुपको संयुक्त लगानी रहेको छ।
निर्माण बजारमा आएको मन्दीका कारण गत वर्ष मारुतीको सिमेन्ट व्यापार १४ प्रतिशत घटेको छ। सन् २०२३ मा उद्योगले ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको छ। यस्तै सन् २०२२ मा उद्योगले ५ अर्ब ५ करोड रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो। एक वर्षमा मारुतीको सिमेन्ट व्यापार ७१ करोड रुपैयाँ बढी घटेको छ।
२०२१ मा ६ अर्ब ९० करोड ८० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको मारुतीले जानकारी दिएको छ। उद्योगका नारायणघाटदेखि काँकडभिट्टासम्म २ सय बढी डिलरहरु रहेका छन्।
सवा ६ अर्ब लगानीमा सिमेन्ट उत्पादन दोब्बर
मारुतीले सिमेन्ट र कच्चा वस्तु क्लिङकर उत्पादन क्षमता दोब्बर बनाएको छ। मारुतीले ६ अर्ब २१ करोड रुपैयाँ थप लगानी गरेर क्लिंकर र सिमेन्ट उत्पादन दोब्बर बढाएको हो। उत्पादन प्लान्ट निर्माण भइसकेको छ। नयाँ प्लान्ट सञ्चालमा आइसकेको छ। उद्योगका अनुसार क्लिंकर उत्पादन दैनिक १ हजार ५ सय टनबाट दोब्बर बढेर ३ हजार ३ सय टन पुगेको छ।
यसैगरी सिमेन्ट उत्पादन २ हजारबाट बढेर दैनिक ४ हजार टन पुग्ने उद्योगले जनाएको छ। विस्तारित प्लान्टबाट उद्योगले पिपिसी सिमेन्ट उत्पादन गर्ने भएको छ। मारुती ब्राण्डमा उद्योगले अहिले ओपिसी सिमेन्ट उत्पादन गरिरहेको छ।
प्लान्ट विस्तारमा ६३ प्रतिशत बैंकको ऋण र बाँकी ३६ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी भएको छ।नयाँ प्लान्ट विस्तारसँगै उद्योगको ऋण बढेर ५ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष उद्योगको ऋण ४ अर्ब ४ करोड रुपैयाँ थियो।
सिमेन्ट उत्पादन गर्न कोइला, चुनढुङा, बक्साइट, जिप्सम, माटो र फलाम अयस्क प्रमुख कच्चा वस्तु भएको मारुतीले जानकारी दिएको छ। क्लिंकरमा ६० प्रतिशत कोइलाको हिस्सा हुन्छ। कोइला दक्षिण अफ्रिका र अन्य मुलुकहरुबाट आयात गरिरहेको उद्योगले जनाएको छ।
सिमेन्ट बेचेर हुने कुुल आम्दानीको ७० प्रतिशत हिस्सा कच्चा वस्तु खरिदमा खर्च हुने गरेको मारुतीले जनाएको छ। उद्योग १५ वर्षदेखि राठी र गोयल ग्रुपले सञ्चालन गरिरहेका छन्। मारुतीको अध्यक्ष नन्दकिशोर राठी र सुनिल खेमका प्रवन्ध निर्देशक हुन्।
मारुती सन् १९९४ मा स्थापना भएको हो। राठी र गोयल समूहले २००५ मा मारुतीको स्वामित्व लिएका थिए। उद्योगले अहिले दैनिक १ हजार ५ सय टन क्लिंकर र २ हजार टन सिमेन्ट उत्पादन गरिरहेको छ।
उद्योग सिरहा मिर्चैयामा छ। उद्योगसँग उदयपुरको कटारीमा रहेको झाँकी खोलामा १४ करोड टन चुनढुङा खानी छ। यसबाट ३० वर्षसम्म क्लिङकर उत्पादन हुने मारुतीले जनाएको छ।